नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा
४ भदौ, काठमाडौं । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ ।
यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ ।
आफ्नो बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि २१ साउनमा भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसयताको १ भदौसम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले बताएका छन् ।
तीन भन्सार कार्यालयको विवरण हेर्दा १ भदौसम्म ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । कुल मूल्य ८० लाख ३६ हजार १६० रुपैयाँ हुन आउँछ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभेंडाको औसत निर्यात प्रतिकिलो मूल्य १२ रुपैयाँ रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयकाबाट यस अवधिमा सबै भन्दा धेरै गोलभेंडा भारत निकासी भएको भन्सारका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिए । वीरगञ्जबाट ७३ लाख ६९ हजार ४३५ रुपैयाँ बराबरको ६ लाख ३७ हजार ६८० किलो गोलभेंडा निर्यात भएको छ ।
यस्तै, मेची भन्सार कार्यालय काँकडभिट्टाबाट २५ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । भन्सार प्रमुख रामप्रसाद रेग्मीकाअनुसार निकासी भएको गोलभेंडाको मूल्य ३ लाख रुपैयाँ हारारीको छ ।
भैरहवा भन्सारबाट जम्मा ७ हजार किलो गोलभेंडा भारत निर्यात भएको छ । जसको मूल्य एक् लाख रुपैयाँ हाराहरीको छ । भन्सार प्रमुख मनीराम पौडेलकाअनुसार यो नाका भएर गोलभेंडाको निर्यात भर्खरै सुरु भएको हो ।
प्रतिक्रिया